

इनरुवा । शुभ दीपावली २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत इनरुवाले कात्तीक ३ गतेदेखि कात्तीक ८ गतेसम्म अदालतका नियमित कामकाज बन्द रहने जनाएको छ ।
अदालतले एक सूचना जारी गर्दै उक्त अवधिमा सार्वजनिक बिदा हुने भएकाले सामान्य मुद्दा र नियमित सेवा स्थगित रहने जानकारी दिएको हो । तर, बिदाको समयमा पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, वन्दी प्रत्यक्षीकरण , सम्बन्धी निवेदनको सुनुवाइका लागि भने विशेष व्यवस्था गरिएको अदालतले जनाएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम, पक्राउ परेका व्यक्तिका हकमा जरुरी आदेश वा अनुमति दिनुपर्ने अवस्थामा अदालत खुला रहने व्यवस्था मिलाइएको हो ।
अदालतका अनुसार कात्तीक ३ गतेदेखि ८ गतेसम्म शनिबार र भाइटिकाको दिन बाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ । यस अवधिमा वन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक कार्यसम्बन्धी मुद्दा मात्र दर्ता र सुनुवाइ हुनेछन् । अदालतले सर्वसाधारण, कानुन व्यवसायी र सम्बन्धित निकायलाई यो व्यवस्था बारे जानकारी गराउन सूचना सार्वजनिक गरेको हो ।
सेवाग्राहीहरूलाई कुनै अत्यावश्यक कानुनी कारणले अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएमा तोकिएको समयभित्र सम्पर्क गर्न सकिने अदालतले जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले हस्ताक्षरित सूचनामा भनिएको छ, “बिदा अवधिभर पनि आवश्यक परेमा अदालत खुला रहने व्यवस्था गरिएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो।”